जनकपुरधाम- मधेस प्रदेश सरकारबाट नेकपा (एकीकृत समाजवादी) बाहिरिएको छ। दुई जना मन्त्रीहरूले मंगलबार पदबाट राजीनामा दिएसँगै नेकपा एस सरकारबाट बाहिरिएको हो।
मुख्यमन्त्री सरोजकुमार यादवलाई एकीकृत समाजवादीका मन्त्रीहरूले राजीनामा पत्र बुझाएका हुन्। मधेशमा एसबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले मन्त्री थिए।
एसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ। मधेसमा जसपा नेपालको सरकार ढालेर जनमतको नेतृत्वमा नयाँ सरकार बनाउन तयारी भइरहेको छ।
यसमा नेकपा (एमाले) र माओवादी केन्द्रले पनि सहमति गरिसकेका छन्। १०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ५४ जना सांसदको समर्थन आवश्यक छ।
एमालेका सभामुखसहित २५, माओवादीको ९, जनमत पार्टीको १३ र एकीकृत समाजवादीका ७ जना सांसद छन्।
नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एक/एक सांसदले पनि जनमतबाट मुख्यमन्त्री बनाउन समर्थन गर्ने बताइएको छ।
जनमतले भने मुख्यमन्त्री बन्ने व्यक्ति सार्वजनिक गरेको छैन।


