काठमाडौँ- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले बजेटमा लिएको ६ प्रतिशत आर्थिक वृद्धिदर पुर्याउने लक्ष्य राख्नुका आधार खोजी गरेका छन्।
प्रतिनिधि सभामा आर्थिक वर्ष २०८१/८२ को बजेटमाथिको छलफलमा भाग लिँदै बुधबार कांग्रेस महामन्त्रीसमेत रहेका थापाले अर्थमन्त्री वर्षमान पुनमाथि यस्तो प्रश्न उठाएका हुन्।
जेठ १५ गते आगामी आवको बजेट प्रस्तुत गर्दै पुनले ६ प्रतिशत आर्थिक वृद्धिदर हुने आकलन गरेका छन्। थापाले ६/८ महिनापछि आफैले काँध हाल्नुपर्ने स्थिति पनि आउन सक्ने भएकाले जोगिएर टिप्पणी गर्नुपरेको पनि टिप्पणी गरेका थिए।
‘यो बजेटबारे बोल्ने कसरी भनेर म अल्मलिएको छु। यो बजेटमा यो पनि छैन, त्यो पनि छैन, यो पनि मिल्दैन, त्यो पनि मिल्दैन भनेर बोल्नुपर्ने हो,’ उनले भने, ‘तर त्यसरी बोलौँ, यति धेरै उथलपुथल भएको यो संसदमा ६/८ महिनापछि यो बजेट आफैले काँध हाल्नुपर्ने पो हो कि!’


