काठमाडौँ- मधेश प्रदेशले आज सरकार पाउँने भएको छ। एमाले माओवादी गठबन्धनले आज बिहान जनमत पाटीका सतिश सिंहको नेतृत्वमा सरकार गठन गर्नका लागि दाबी पेश गर्ने छन्।
नवनियुक्त मुख्यमन्त्रीको शपथ ग्रहण पनि आजै ११ बजेका लागि तय गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
मधेसमा नयाँ सरकार गठनका लागि आह्वान गरेको समय आज सकिँदै छ। बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी थिइन्।
प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरी संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएको थियो।


