नयाँदिल्ली- लोकसभा चुनावमा भाजपा सम्मिलत गठबन्धन नेसनल डेमोक्रेटिक अलायन्स (एनडीए)ले २९२ सिटमा जित हासिल गरेसँगै नरेन्द्र मोदी तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिन तयारी गरेका छन्।
जुन ९ मा साँझ ७:१५ बजे नरेन्द्र मोदीले राष्ट्रपति द्रौपदी मुर्मूसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको छ।
प्रधानमन्त्रीले शपथ लिएलगत्तै मन्त्रिपरिषद्का केही सदस्यले शपथ लिनेछन्। सपथ ग्रहण समारोहमा उपस्थित हुनका लागि छिमेकी देशका प्रमुखलाई निम्तो दिइएको छ।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, सेसेल्सका उपराष्ट्रपति अहमद अफिफ, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, मोरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथलगायत मोदीले शपथ लिने कार्यक्रममा सहभागी हुनेछन्।
माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु पनि प्रधानमन्त्री मोदीको शपथका बेला उपस्थित हुने बताइएको छ।
राष्ट्रपति द्रौपदी मुर्मुले शपथ ग्रहण समारोहमा सहभागी विदेशी नेताहरुका लागि राष्ट्रपति भवनमा रात्रिभोजको आयोजना गर्नेछिन्।


