काठमाडौँ- उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले आफूलाई प्रश्न सोध्नेहरूले प्रवृत्ति बदल्नुपर्ने टिप्पणी गरेका छन्।
विराटनगर विमानस्थलमा पत्रकारहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री लामिछानेले अरुले खडा गरिदिएका प्रश्न सोध्ने पत्रकारलाई उत्तर दिएर समय बर्बाद नगर्ने पनि बताए।
‘अरु प्रश्नहरु पनि छन् होलान् नि साथीहरु,’ उनले भने, ‘तपाईंहरुका आफ्ना प्रश्नहरु पनि भइदिए हुन्थ्यो, कसैले खडा गरिदिएको प्रश्न महिनौंसम्म सोधिरहनु भन्दा…।’
आफूमाथि लागेका आरोपहरुको सम्बन्धित ठाउँमा जवाफ दिने बताएका छन् । तर हरेक आरोपको जहाँ पायो त्यहीँ जवाफ नदिने पनि उनको भनाइ थियो।
आफूले गरेको सम्बोधनका विषयमा प्रतिपक्षी नेपाली कांग्रेसले जवाफ माग गरेको विषयमा आफूलाई जानकारी नभएको उनको भनाइ छ।
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाका छोरा सम्भव सिरोहियाले मन्त्री लामिछानेमाथि गरेका टिप्पणीको विषयमा सोधेका प्रश्नको जवाफ पनि उनले दिएनन्।


