काठमाडौँ- विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) बैठक नेपालमा हुँदैछ। आगामी असार ४ गतेदेखि ७ गतेसम्म काठमाडौँमा हुने बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदघाटन गर्ने भएका छन्।
आईडीएको २१औं बैठक आयोजना गर्न विभिन्न देशले प्रस्ताव पेश गरेका थिए। अन्तिममा ताजिकिस्तान र नेपालमध्येबाट विश्व बैंक सञ्चालक समितिले बैठकका लागि नेपाल रोजेको हो।
नेपालले ६ वर्षअघि आईडीए–१९ बैठक काठमाडौँमा गर्न डिसीस्थित विश्वबैंक मुख्यालयलाई पत्राचार गर्नुका साथै अनौपचारिक रुपमा लबिङ गरेको थियो।
उद्घाटन, बन्दसत्र र समापन गरी तीन सत्रमा कार्यक्रम हुनेछ। समापनसत्रको प्रमुख अतिथि अर्थमन्त्री पुन छन्।
अर्थ मन्त्रालयले बैठक व्यवस्थापनका लागि सचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरेका छन्।
विकास साझेदारहरूको अन्तर्राष्ट्रिय गठबन्धनको भूमिकामा रहेको आईडीए बैठकमा सहभागी हुन विश्व बैंकका अध्यक्ष अजय बंगा, बैंकको दोश्रो वरियताका विकास नीति र साझेदारी विभाग हेर्ने वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भ्यान ट्रोट्सनबर्ग, ९ उपाध्यक्ष र पाँच डाइरेक्टर वासिङटनबाट नेपाल आउँदैछन्।
यस्तै विश्व बैंकका लागि दाता रहेका करिब ६० र साझेदार ९० भन्दा बढी देशका ३ सय बढी प्रतिनिधि बैठकमा सहभागी हुने सहसचिव नेपालले जानकारी दिए। नेपालमा हुन लागेको यो विश्व बैंकको हालसम्मकै ठूलो कार्यक्रम भएको नेपालको अर्थ मन्त्रालयले दाबी गरेको छ।
सन् १९६० मा स्थापना भएको आईडीए विश्व बैंकको सहुलियतपूर्ण ऋण र अनुदानका अतिरिक्त आर्थिक विकासमा पछि परेका मुलुकहरुका लागि बहुपक्षीय सहायता प्रदान गर्ने निकाय हो।
आईडीएले न्यून र मध्यम आय भएका विश्वसका ७५ भन्दा बढी मुलुकहरुमा सहायता उपलब्ध गराउँदै आएको छ। आईडीएको बैठक हरेक तीन वर्षमा हुने गरेको छ। यसपटक बैठकको प्रमुख एजेण्डा नेपालजस्ता विकासोन्मुख मुलुकको आर्थिक विकासमा कसरी थप सहयोग गर्ने भन्ने तय गरिएको छ।
सहसचिव नेपालले यो स्तरको बैठकस्थलका लागि नेपाल छानिनु खुसीको कुरा भएको बताए। उनले साझेदारहरुसँगको सहकार्यमा नेपालमा निर्माणाधीन विकास आयोजना, तिनीहरुका सकारात्मक पक्ष र चुनौतीबारे विश्व समुदाय अवगत हुने र उक्त अनुभव संसारलाई बाँड्न बैठक महत्वपूर्ण हुने उल्लेख गरे।
कार्यक्रमबाट नेपाललाई कुटनीतिक लाभसमेत मिल्ने विश्वास सरकारले लिएको छ। बैठकमा आगामी तीन वर्ष आईडीएले गर्ने प्रमुख कार्यका साथै आर्थिक विकासमा उत्पन्न श्रोतको सीमा लगायत विषयमा छलफल हुनेछ।
बैठकपछि अध्यक्ष बंगासहित उच्च अधिकारीहरू काठमाडौँ उपत्यका आसपास विश्व बैंकसहित विकास साझेदारका लगानीमा निर्माणाधीन विभिन्न ९ आयोजनाको स्थलगत निरीक्षणमा जाने तयारी छ।
गत वैशामा सम्पन्न तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी हुन काठमाडौँ आएका विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरसँगको भेटमा अर्थमन्त्री पुनले बैठक तयारीबारे छलफल गरेका थिए। त्यसअघि मन्त्री पुनले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन वैशाख पहिलो साता अमेरिका गएका बेला वासिङ्टन डीसीस्थित विश्व बैंक मुख्यायमा भएको भेटमा बैंकका उपाध्यक्षद्वय अकिहिको निसियो र ग्वाङ्जे चेनसँग भेटमा पनि आईडीए बैठकबारे कुराकानी गरेका थिए।
हरेक तीन वर्षमा हुने आईडीएको २०औँ बैठक सन् २०२१ को डिसेम्बर १४ र १५ मा जापानले आयोजना गरेको थियो। सो बैठकमार्फत विकास साझेदारहरूको विश्वव्यापी गठबन्धनले न्यून आय भएका देशहरूलाई कोभिड १९ महामारीको सामना गर्न र हरियाली प्रवद्र्धनमार्फत कार्बन उत्सर्जन घटाउन ९३ अर्ब अमेरिकी डलर अनुदान सहयोग प्रदान गर्ने घोषणा गरेको थियो।
विश्व बैंकले संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको अर्धजलासययुक्त माथिल्लो अरुण जलविद्युत आयोजना र ६ सय ३५ मेगावाटको दूधकोशी जलाशययुक्त आयोजनामा लगानी गर्दैछ।


