काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागि हुन भारत पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज भारतीय राष्ट्रपति द्रोपदी मुर्मुसँग भेटघाट गर्दैछन्।
बिहान ११ बजे प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति मुर्मुसँग भेटघाट गर्ने जनाइएको छ।
प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका थिए।
उनले भ्रमणका अवसरमा भारतीय समकक्षी मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ। प्रधानमन्त्री प्रचण्ड को सम्मानमा नयाँदिल्लीस्थित नेपाली दूतावासले सोमबार बिहान चियापानको आयोजना गर्ने कार्यक्रम छ।
प्रधानमन्त्रीको साथमा उनकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि छन्। प्रधानमन्त्री सोमबार नै स्वदेश फर्कने कार्यक्रम छ।


