पोखरा- गण्डकी प्रदेशका ऊर्जामन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटालाई नेकपा (माओवादी केन्द्र)ले स्पष्टीकरण सोधेको छ।
माओवादी संसदीय दलको निर्णयविपरीत मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिएको भन्दै देवकोटालाई नेकपा माओवादी केन्द्रले २४ घण्टे स्पष्टीकरण सोधेको हो।
नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशकी प्रमुख सचेतक कुसुम बुढाले पार्टीद्वारा जारी ह्विप उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधिएको बताइन्।
डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेता देवकोटा २०७९ को निर्वाचनमा गोरखाबाट माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित भएका थिए। गण्डकी प्रदेश सभाको रेकर्डमा उनी नेसपाका सांसद हुन्।

माओवादी केन्द्रले भने देवकोटा माओवादी केन्द्रको चिह्नबाट निर्वाचित भएकाले उनी प्रदेश सभा सदस्य रहुन्जेल माओवादीकै सांसदका रूपमा गणना हुने दाबी गर्दै आएको छ।
तर नेसपाले भने प्रदेश सभाको रेकर्डमा भएअनुसार आफ्नै दलको निर्णय सांसदले मान्नुपर्ने तर माओवादीको निर्णय मान्न बाध्य नहुने बताउँदै आएको छ।
पाण्डेलाई विश्वासको मत दिएपछि देवकोटाले ऊर्जा तथा जलश्रोत मन्त्रालयको जिम्मेवारी पाइसकेका छन्।


