काठमाडौँ- चक्रपथ विस्तारका विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद एकैठाउँ उभिएका छन्।
चक्रपथको कलंकी-चाबहिल खण्डको काम तत्काल सुरु गर्न माग गर्दै कांग्रेस र रास्वपाका सांसदले संकल्प प्रस्ताव दर्ता गराएका हुन्।
संकल्प प्रस्तावका प्रस्तावक कांग्रेस सांसद प्रदीप पौडेल हुन्। उक्त प्रस्तावलाई कांग्रेस र रास्वपाका सांसदले समर्थन गरेका छन्।
कांग्रेसका गगनकुमार थापा, प्रतिमा गौतम, सपना राजभण्डारी, अम्बिका बस्नेत, राजेन्द्रकुमार केसी र सन्तोष चालिसेले समर्थन गरेको प्रस्तावमा रास्वपाका सांसद शिशिर खनाल, शोविता गौतम र गणेश पराजुली पनि समर्थक छन्।
चक्रपथ विस्तारको काम सुरु भए पनि मुख्य सडक निर्माण लामो समयदेखि अनिश्चित भएको, धुलोधुँवाले आमनागरिकको स्वास्थ्यमा दीर्घकालीन असर परेको, वातावरण प्रदूषण बढेकोलगायत कारणले यो विषय संसदमा छलफल गर्नुपर्ने प्रस्तावमा उल्लेख गरिएको छ।


