काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई कसैले नपत्याएको भन्दै गुनासो गरेका छन्।
नेपाल समाजवादी पार्टी (नेसपा)ले आयोजना गरेको कार्यक्रममा सहभागी हुँदै गृहमन्त्रीसमेत रहेका लामिछानेले यस्तो गुनासो गरेका हुन्।
‘तीन महिना यो मिल्ने चक्करमा घुमेँ। मिल्ने! अलिकति प्रोफाइल भएका कैयौँ मूर्धन्य मान्छेहरूसँग म मिल्नका लागि भनेर गएँ। पत्याए पो कसैले! के पत्याउँथे! लास्टमा हुन्छ बसेर छलफल गरौँला भन्ने आउँछ,’ उनले भने। तर अन्त्यमा आफूलाई साथ दिन धेरै तयार नभएको उनको गुनासो थियो।
पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा रविले डा. बाबुराम भट्टराईलाई पढाउन सुझाव पनि दिएको उल्लेख गरेका थिए।
रास्वपाले नेता उत्पादन गर्न लिडरसिप एकेडेमी सुरु गर्ने अवधारणा बनाएको भन्दै लामिछानेले त्यसमा पढाउन भट्टराईलाई प्रस्ताव गरेको बताए। आफूले गरेको प्रस्ताव भट्टराईले अस्वीकार गरेको उनको भनाइ थियो।
‘बरु पढाउनेतिर लाग्नुपर्यो, तपाईंले जेनेरेसनलाई आफूले जानेको सिकाउनतिर लाग्नुस् त्यहाँ चाहिँ राम्रो हुन्थ्यो कि भनेको थिएँ’, लामिछानेले भने, ‘डा. साबलाई के मन पथ्र्यो र राजनीतिक किरा भएको मान्छेलाई राजनीति भन्दा पर जाऊ भनेको के मन पर्थ्यो र?’
उनले भट्टराईको राजनीतिक निरन्तरताको प्रशंसा गर्दै त्यसलाई कायम राख्न सुझाव दिए।


