काठमाडौँ- यो सातामा कारोबारको अन्तिम दुई दिन पुँजी बजारमा कारोबार रकम उल्लेख्य रूपमा बढेको छ। बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढ्दा कारोबार ६ अर्ब ४४ करोड नाघेको थियो। नेप्से परिसूचक आज ९.३२ अङ्कले घट्दा कारोबार करिब रु ६ अर्ब ५० करोड नजिक पुगेको हो।
नेप्से २ हजार ११२.२९ को बिन्दुमा कायम भएको छ। ३१३ कम्पनीको १ करोड ४२ लाख ९४ हजार सात सय १२ कित्ता शेयर ७७ हजार चार सय पटक खरिद बिक्री हुँदा रु ६ अर्ब ४४ करोड ३० लाख २९ हजार बराबरको कारोबार भएको हो।
यो कारोबार रकम सन् २०२४ कै दोस्रो हो। यसअघि माघ ७ गते ७ अर्ब ६३ करोड २८ लाख ९० हजार ५०६ रुपैयाँको कारोबार भएको थियो। त्यसको भोलिपल्ट ६ अर्ब २८ करोडको कारोबार भएपनि त्यसपछि ६ अर्ब पुग्न सकेको थिएन। नेप्सेमा भएको कुल कारोबार रकमले झन्डै ५ महिनाअघिको रेकर्ड भेट्टाएको हो। त्यस्तै माघ ३ गते ९ अर्ब ६५ करोडको कारोबार भएको थियो। उक्त रकम सन् २०२४ कै सबैभन्दा उच्च हो।
आजको कारोबारमा विकास बैंक समूह १. ३ र वित्त समूह २.०३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह र व्यापार समूह समान १.३ प्रतिशतले घटेका छन्।
त्यस्तै, बैंकिङ ०.४३, होटल तथा पर्यटन ०.१५, जलविद्युत् ०.१५, जलविद्युत् ०.५९ र लगानी ०.६४ प्रतिशतले घटेको छ। जीवन बीमा समूहको उपसूचक ०.५१, लघुवित्तको ०.३८, म्युचुअल फण्डको ०.११, निर्जीवन बीमाको ०.८२ र अन्य समूहको उपसूचक ०.८१ प्रतिशतले घटेको छ।
समृद्धि फाइनान्स कम्पनी लिमिटेड, कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेड र साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने मिड सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रु २८ करोड ४७ लाख ३९ हजार बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हिमालयन बैंक लिमिटेड प्रमोटर शेयर सात लाख ५० हजार तीन सय ९४ कित्ता शेयर किनबेच भएको छ।


