काठमाडौँ– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साह ब्राजिल प्रस्थान गरेका छन्।
मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन मेयर बालेन ब्राजिल प्रस्थान गरेका हुन्।
असार ५ र ६ गते (जुन १९ र २०, २०२४) मा ब्राजिलको साओ-पाउलोमा हुने निर्देशक समितिको बैठकमा भाग लिन सोमबार उनी ब्राजिल प्रस्थान गरेका हुन्।
बालेन असार ८ गते स्वदेश फर्कने कार्यक्रम छ। बालेनका साथमा पूर्वाधार सल्लाहकार सुनिल लम्साल छन्।
बालेन मेट्रोपोलिस निर्देशक बोर्डका सदस्य हुन्। मेट्रोपोलिस विश्वका ठूला महानगरहरूबीच विश्वव्यापी सहयोग, संवाद, ज्ञान र समाधान आदानप्रदान गर्ने अन्तर्राष्ट्रिय संस्था हो।
मेयर साहलाई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, स्वकीय सचिव भूपदेव शाह, सचिवालय सदस्य धिरज जोशी र नविन भण्डारीले त्रिभुवन विमानस्थलको विशिष्ट कक्षबाट बिदाइ गरेका थिए।
बोर्डमा सहरी आवास र भवनहरूको विषयमा छलफल हुने बताइएको छ। सहरमा आवासका चुनौतीलाई सामना गर्न, सभ्य र सहज आवाससँग सम्बन्धित विषयमा छलफल गरेर निर्देशक बोर्डले निष्कर्ष निकाल्नेछ। बैठकमा मेयर साहले सम्बोधन गर्नेछन्।
कार्यक्रमअन्तर्गत ‘मेयरल राउन्ड टेबल’ शीर्षकमा बुधबार हुने आवास र भूमि तथा महानगर कल्याण र जीवन स्तर सुधारसँग सम्बन्धित ‘मेट्रोपोलिस नीति बहस’ मा साहले प्यानलिस्टका रूपमा धारणा प्रस्तुत गर्नेछन्।
सहरी आवासका आयाम, अभाव र प्रभाव तथा जलवायु जोखिम घटाउन विश्वव्यापी साझा कार्यक्रम, पर्याप्त पूर्वाधार, कम कार्बन फुटप्रिन्ट र समुदायका प्रत्येक सदस्यको विविध आवश्यकताहरू पूरा गर्न समावेशी दृष्टिकोणका विषयमा केन्द्रीत रहेर नीति बहस हुनेछ।
नीति बहसले विश्वभरका प्रमुख सहरहरूका प्रमुख सरोकारवालाहरू, अन्तर्राष्ट्रिय संस्था र वित्तीय संस्थालाई एकै ठाउँमा स्थानीय चुनौती समाधान गर्न अन्तरदृष्टि आदानप्रदान गर्ने र लगानीका अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
उपयोग नीतिका आधारमा नवीन आवास र भूमि व्यवस्थापनमा महानगरहरूका ज्ञान आदान प्रदान गर्न विश्वका प्रमुख सहरहरूबाट राजनीतिक नेताहरूलाई एकै ठाउँमा ल्याएर सञ्जाल निर्माण गर्नु, सभ्य, मितव्ययी सहरी आवास सुनिश्चित गर्न साओ पाउलोले गरेका प्रयास अवलोकन हुनेछ। बैठकले विश्व परिवेशका भिन्नभिन्न स्थानीय अनुभव, प्रयास र नतिजा तथा प्रमाणमा आधारित समाधान दिनेछ।
