काठमाडौँ- सांसदहरूले ‘मिडिया काउन्सिल विधेयक, २०८०’ मा समावेश भएका अंग्रेजी शब्दलाई नेपाली गर्न प्रस्ताव गरेका छन्।
१३ जना सांसदले ‘मिडिया काउन्सिल विधेयक, २०८०’को नाम परिवर्तन गरी ‘सञ्चार परिषद् विधेयक, २०८१’ राख्न प्रस्ताव गरेका हुन्।
राष्ट्रिय सभामा दर्ता भएको ‘मिडिया काउन्सिल विधेयक’ विचाराधीन अवस्थामा छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले २०८१ वैशाख १२ गते राष्ट्रिय सभामा यो विधेयक दर्ता गराएकी हुन्।
संशोधन प्रस्ताव राख्ने सांसदहरूमा नेकपा एकीकृत समाजवादीका सांसद वेदुराम भुसाल, माओवादी केन्द्रका गोपीबहादुर अछामीलगायत छन्।
प्रस्तावित विधेयकमा सांसदहरूका ७८ वटा संशोधन प्रस्ताव दर्ता भएका छन्।


