काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्ड र जर्मनीको भ्रमण सकेर बुधबार बिहान स्वदेश फर्किएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री, मन्त्री तथा उच्च पदस्थ सरकारी अधिकारीहरूले स्वागत गरे।
राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो।
राष्ट्रपति पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका लागि जेठ २९ गते त्यसतर्फ प्रस्थान गरेका थिए। भ्रमण टोलीमा प्रथम महिला सविता पौडेल, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्च अधिकारीको सहभागिता थियो।
स्वीट्जरल्याण्ड भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जेठ ३० गते त्यहाँका राष्ट्रपति भिओला आमहर्डसँग द्विपक्षीय वार्ता गरे।
जेठ ३१ गते अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ उच्चस्तरीय सत्रमा आयोजना भएको ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस) को उद्घघाटन मञ्चलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गरे।
सोही दिन राष्ट्रपति पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का महानिर्देशक गिल्बर्ट एफ होग्ङबोले शिष्टाचार भेट गरे।
स्विट्जरल्याण्डको भ्रमणपछि राष्ट्रपति पौडेल असार १ गते जेनेभाबाट संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टाईनमायेर निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण सुरु गरे।
असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक वार्ता गरेका थिए।
राष्ट्रपति पौडेलले आइतबार जर्मनीका विज्ञान प्रविधि तथा अनुसन्धानसँग सम्बन्धित विभिन्न संस्था, बर्लिनको पर्खाल र पूर्वी जर्मनीको अवलोकन भ्रमण गरेका थिए। गैरआवासीय नेपाली संघ जर्मनीले राष्ट्रपति पौडेललाई अभिनन्दनसमेत गरेको थियो।


