काठमाडौँ- नेपालमै पहिलो पटक ‘प्रथम सहकारी रोजगार मेला-२०८१’ को आयोजना हुने भएको छ।
राष्ट्रिय सहकारी महासंघले ‘मर्यादित सहकारी व्यवसायका लागि युवा संलग्नता’ भन्ने नाराका साथ असार ७ गतेदेखि ९ गतेसम्म मेलाको आयोजना गर्न लागेको हो।
महासंघले पत्रकार सम्मेलन गर्दै मेलाले रोजगारदाता र रोजगारीको खोजी गर्नेहरूकोबीच पुलको काम गर्ने बताएको छ।
मेलाले प्रतिभा पलायन (ब्रेन ड्रेन) रोक्न, स्वदेशमै रोजगारी सिर्जना गर्न प्रोत्साहन गर्ने वातावरणको विकास गर्न तथा उत्पादन एवं सेवाका सहकारीहरू र अन्य निजी क्षेत्रका लागि आवश्यक जनशक्ति खोज्न सहजता प्रदान गर्ने जनाइएको छ।
मेलाले स्टार्टअपहरू र साना व्यवसायमार्फत स्वरोजगार गर्न चाहनेहरूको लागि नेटवर्किङको कार्य आयोजकको भनाइ छ।
सहकारी क्षेत्रका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ विभिन्न संघ संस्थाले सञ्चालन गर्ने व्यावसायिक तालिमहरू, शैक्षिक कोर्सहरू र सीप विकास कार्यक्रमहरूको विषयमा जानकारी गराउँदै मानव संसाधन विकासमा समेत मेलाले योगदान गर्ने छ।
देशभित्रै स्वरोजगारीका अवसरहरू सिर्जना गर्दै आएको सहकारी क्षेत्रका विषयमा युवालाई जानकारी गराई वैदेशिक रोजगारीको प्रवाह कम गरी उद्यमशीलता विकास गर्न समेत टेवा पुग्ने देखिन्छ।
मेलाले समयमा नै जागिर सुरक्षित गर्ने र आफ्नो व्यक्तिगत विवरण अनलाइनमार्फत भरी रोजगारीको अवसरको लाभ लिन सकिने भएकाले मेलाप्रति युवाको थप आकर्षण हुने अनुमान गरिएको छ।
हाल ३१ हजार भन्दा बढी सहकारी संघ/संस्थामार्फत १ लाख बढीलाई प्रत्यक्ष रोजगारी र लगभग १० लाखलाई स्वरोजगार बनाउन सफल रहेको यस क्षेत्रको भिजन २०३० ले परिकल्पना गरेको रोजगारी सिर्जनाको लक्ष्य हासिल गर्न मेलाले महत्त्वपूर्ण योगदान गर्ने जनाइएको छ।
तीन दिनसम्म चल्ने उक्त मेलाको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गर्नेछन्।
मेला अवधिभर सहकारीका ठुलो रोजगारदाताहरूबाट कार्यपत्र प्रस्तुति, अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)का विज्ञद्वारा करियर काउन्सिलिङका सेसनहरू समेत निरन्तर सञ्चालन हुनेछन्।
निःशुल्क प्रवेश गर्न सकिने मेलामा विश्वविद्यालयदेखि विभिन्न कलेजका विद्यार्थीहरू, रोजगारीको खोजीमा रहेका युवाहरू, प्राविधिक जनशक्तिहरू, सहकारीकर्मीहरू गरी करिब ५ हजारले अवलोकन गर्ने अनुमान गरिएको छ।
मेलामा अवलोकनकर्ता तथा रोजगारी खोजीमा रहेको युवाहरूका लागि क्युआर कोड स्क्यानमार्फत रजिस्ट्रेसन गर्ने व्यवस्था मिलाइएको छ। मेलामा रोजगारदाताका ३५ स्टलहरू रहने छन्।
सहकारीमार्फत उद्यमी बनेकाहरूका उत्पादनलाई समेत मेलामा स्थान दिइने जनाइएको छ।
उक्त मेलाको कूल लागत १० देखि १५ लाख रुपैयाँ रहने आयोजकले जनाएको छ।


