काठमाडौँ- संसद् सचिवालयका कर्मचारीहरूको ‘ब्ल्याक आउट’ले प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। कर्मचारीहरूले असहयोग गरेपछि बुधबार प्रतिनिधि सभाको बैठक स्थगित भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीले बजेटमा उठेका प्रश्नको जवाफ दिइसकेपछि सांसदहरूले पुरक प्रश्न गर्न थालेपछि प्राविधिक कर्मचारीहरूले झन्डै १२ मिनेटसम्म सभामुखलाई मात्रै देखाएर युट्युबटमा प्रत्यक्ष प्रसारण गरेका थिए।
यसअघि ५ बजेसम्म बैठक सञ्चालन गर्ने सहमति भएको थियो। तर सभामुख देवराज घिमिरेले ५ बजेपछि पनि पेलेर संसद् चलाउन थालेपछि प्राविधिक कर्मचारीहरूले सभामुखको मात्र अनुहार देखाएर प्रत्यक्ष प्रसारण गरेका थिए।
आफूहरूलाई प्रश्न सोध्न दिइएको तर प्रत्यक्ष प्रसारणमा सभामुखलाई मात्रै देखाइएको भन्दै सांसदहरूले विरोध गरे।
‘ब्ल्याक आउटमा सदन नचलाऔं’ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भने।
सांसदहरूले ‘ब्ल्याक आउट’मा सदन नचलाउन आग्रह गरेपछि सभामुखले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले जवाफ दिएर पूरक प्रश्न लिएपछि त्यसको जवाफ दिन नपाउँदै बैठक स्थगित गरेका हुन्।
प्रतिनिधि सभाको अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने छ।
संसद् सचिवालयका कर्मचारीहरू तलब भत्ता, आवास भत्ता तथा शैक्षिक भत्ता वृद्धिको माग राख्दै आन्दोलनमा छन्।


