काठमाडौँ– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले स्थानीय तहलाई दिइने समानीकरण अनुदान कटौती गर्न नहुने बताएका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा कांग्रेसका महामन्त्रीसमेत रहेका थापाले यो उनीहरुको अधिकार भएकाले संघीय सरकारले बकस दिएको जस्तो गर्न नहुने बताए।
‘संघीय सरकारले बकस दिएको जस्तो गरेको छ, यसपालि पनि त्यस्तै भयो। स्रोत छैन भनेर सात प्रतिशत समानीकरण अनुदान कम गरेर दिने भन्ने कुरा आएको छ,’ थापाले भने, ‘वडाको क्षेत्राधिकारमा बजेट हाल्न नलजाउने अनि स्रोत छैन भनेर कटौती गर्ने ? यो अस्वीकार्य छ।’
प्रधानमन्त्री पुष्पकमल दाहाललाई स्थानीय सरकार प्रमुखहरूले समानीकरण अनुदान १०० प्रतिशत नै चाहिने भनेर भनेको भन्दै थापाले त्यसलाई टार्न नमिल्ने बताए।
प्रधानमन्त्रीले आफ्नो मन भएको भए पनि मन्त्रीहरुले नमानेको बताए।
‘तर प्रधानमन्त्रीले भन्नुभएछ, मेरो त मन छ तर मन्त्रीले मानेनन्,’ प्रधानमन्त्री दाहाललाई लक्षित गर्दै थापाले भने, ‘यो संसदीय व्यवस्था हो, नटर्ने मन्त्री फेर्ने, फेर्न नसके सिंहदरबार र बालुवाटारबाट डेरा सर्ने।’
