चितवन– भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रुपैयाँको बजेट ल्याएको छ।
नगरसभा तथा १५औँ अधिवेशनमा नगरप्रमुख रेनु दाहालले १९० बुँदे नीति तथा कार्यक्रम पेस गरेकी हुन्। उपप्रमुख चित्रसेन अधिकारीले बजेट वाचन गरेका हुन्।
भरतपुरको बजेट चालु आर्थिक वर्षको भन्दा थोरै बढी हो। गत वर्षको नगर सभामा आर्थिक वर्ष ०८०/८१ का लागि ६ अर्ब ४८ करोड ७९ लाख ९० हजार रुपैयाँको बजेट पेस भएको थियो।
आगामी आर्थिक वर्षका लागि आन्तरिक आय १ अर्ब ८० करोड रुपैयाँ हुने अनुमान बजेटमा छ। चालु आर्थिक वर्षमा १ अर्ब ७५ करोड रुपैयाँ आन्तरिक आय हुने अनुमान थियो।
महानगरले चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी दिन बाँकी रहेका बहुवर्षीय ठेक्का भएका योजनाहरु समयमै सम्पन्न गर्न सवैभन्दा धेरै एक अर्ब ६० करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ।
महानगरले शिक्षाका लागि ११ करोड रुपैयाँ विनियोजन गरेको छ। कला र संस्कृतिको संवर्धनका लागि कला गृह (आर्ट ग्यालरी) निर्माण गर्न सम्भाव्यता अध्ययनका लागि चार लाख रुपैयाँ विनियोजन गरेको छ।
गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणका लागि महानगरले ४ करोड ३० लाख रुपैयाँ विनियोजन गरेको छ।
माडी जोड्न ध्रुवघाटमा राप्ती नदीमा थप पुल बनाउने र प्रदेश सरकारको लगानीमा भरतपुर–१६ र नवलपुर गैंडाकोट–१३ जोड्न नारायणी नदीमा अर्को पुल बनाउने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।
नारायणी लिफ्ट सिंचाइको नहरलाई बाह्रै महिना सञ्चालन गर्ने, राजस्व संकलन बढाउन विभिन्न नीति लिने, सम्पत्ति करको दरलाई नभएर दायरा बढाउने, पटिहानी, देवघाट, मेघौली, गोलाघाट क्षेत्रलाई चलचित्र छायांकन केन्द्रको रूपमा विकास गर्ने कार्यक्रम मेयर रेनु दाहालले प्रस्तुत गरेकी छन्। नगर सभा बुधबारसम्म चल्नेछ।
