काठमाडौँ- सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्क प्रवाह भएको रकमको विवरण झिकाउने निर्णय गरेको छ।
सिंहदरबारमा बुधबार बसेको समिति बैठकले विभिन्न सहकारीमार्फत गोरखा मिडिया नेटवर्कमा प्रवाह भएको रकमको कागजात मगाउने निर्णय गरेको समिति संयोजक सूर्य थापाले जानकारी दिएका छन्।
समितिको कार्यादेशको अनुसूची-२ मा रहेका ९ वटा सहकारीका विवरण मगाउने निर्णय गरेको हो।
सहकारीहरुको साधारण सभाको प्रतिवेदन विवरण, लेखा परीक्षण प्रतिवेदन, सञ्चालक समितिको विवरण, लेखा सुपरिवेक्षण र अन्य आवश्यक वित्तीय विवरणका साथै विभिन्न सहकारीमार्फत गोर्खा मिडियामा प्रवाह भएको रकमको स्थितिसमेत माग गर्ने निर्णय छ।
गोर्खा मिडियामा विभिन्न सहकारीको रकम गैरकानुनी रूपमा लगानी भएको आरोप छ। गोर्खा मिडियाका तत्कालीन कार्यकारी प्रमुख रवि लामिछानेको नामबाट सहकारीको रकम लगानी भएको आरोप लागेपछि त्यसको छानबिन गर्न संसदीय समिति बनेको हो।
उनै रवि लामिछानले हाल गृहमन्त्री छन्। तर लामिछानेले भने आफूले कुनै पनि सहकारीबाट रकम नलिएको र गोर्खा मिडियामा लगानीसमेत नगरेको जिकिर गर्दै आएका छन्।
समितिले यसअघि नै विभिन्न समयमा सहकारीका सम्बन्धमा अध्ययन गर्न गठन भएका समिति र आयोगका प्रतिवेदन माग गरेको थियो। ती प्रतिवेदन प्राप्त भएको र अध्ययनका लागि समिति सदस्यहरुलाई वितरण गरिएको छ।
थापाले सहकारी छानबिनमा समग्ररुपमा अध्ययन गरिरहेको भन्दै निष्पक्ष रुपमा छानबिन हुने बताए।
त्यस्तै, बुधबार बसेको बैठकले नै समस्याग्रस्त सहकारीको छानबिनका लागि सहकारीविज्ञ दिपकप्रसाद बाँस्कोटा र केशव बडालसँग पनि परामर्श गरेको थियो।
गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो।


