काठमाडौँ- नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य विवेक बानियाँले राजीनामा दिएका छन्। बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवालाई उनले राजीनामा बुझाएका हुन्।
नेपाल विद्यार्थी संघको महाधिवेशन गर्न माग गर्दै उनले राजीनामा बुझाएका हुन्। पछिल्लो पटक थपिएको नेविसंघको म्याद असार १५ गते सकिने भएकाले त्यसअघि नै आफूले राजीनामा दिएको देउवालाई सम्बोधन गरी लेखिएको पत्रमा उल्लेख छ।
‘तोकिएको समय भित्र यस कार्यसमिति मार्फत १२औं अधिवेशन सम्भव नरहेकोले केन्द्रीय सदस्यको भूमिकामा रहिरहनु औचित्यहीन भएको ठहर गर्दै नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य पदबाट राजीनामा दिइएको व्यहोरा जानकारी गराउँदछु,’ बानियाँको राझीनामा पत्रमा उल्लेख छ।
२०८० पुस १२-१४ को कांग्रेस केन्द्रीय समितिको बैठकले ६ महिनाभित्र महाधिवेशन गर्न नेविसंघलाई निर्देश गरेको थियो। उक्त अवधि असार १५ गते पूरा हुँदै छ। तर हालसम्म नेविसंघले महाधिवेशनका लागि कुनै तयारी गरेको छैन।
नेवि संघका वर्तमान केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले अवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी ढङ्गले देशभरका विभिन्न जिल्ला तथा क्याम्पस ईकाइहरुमा गरेका मनोमानीपूर्ण गतिविधि गरेको समेत बानियाँको आरोप छ।
‘अधिवेशन सम्पन्न गर्नतर्फ भन्दा संगठनमा आन्तरिक विवाद सिर्जना गरी तदर्थवाद बाटै आफ्नो पद लम्बाईराख्ने र सिंगो संगठनको गरिमालाई धमिल्याइ ने. वि. संघको अस्तित्व नै संकटमा पार्नतर्फ अध्यक्षका गतिविधि उन्मुख देखिन्छन्,’ राजीनामा पत्रमा लेखिएको छ।



