काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह उपस्थित नभएपछि नगर सभा बैठक स्थगित भएको छ।
शुक्रबार राष्ट्रिय सभागृहमा बिहान ८ बजे बस्ने भनिएको बैठकका लागि मेयर बालेन नै उपस्थित नभएपछि स्थगित भएको हो।
मेयर बालेनबाहेकका सबै नगर सभा सदस्य उपस्थित थिए। महानरपालिकाको वडा नम्बर ८ का वडाध्यक्ष आशामान संगतका अनुसार पूर्व जानकारी बिना नै मेयर बालेन सभामा उपस्थित नभएका हुन्।
बिहान ८ बजेका लागि नगरसभा बोलाइएको थियो। नगरसभाका सदस्यले साढे १० बजेसम्म कुरेका थिए। तर बालेन आउने/नआउने निश्चित नभएपछि सभाका सदस्यहरू निस्किएका थिए।
नगरसभाबाट आगामी वर्षको २०८१/०८२ को नीति तथा कार्यक्रम पारित गर्ने र बजेट, काठमाडौँ महानगरपालिका आर्थिक विधेयकर विनियोजन विधेयकमा छलफल गरी पारित गर्ने कार्यसूची थियो।
नगरसभामा न्यायिक समितिको आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन, लेखा समितिको आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन पनि पारित गर्ने कार्यसूची थियो।
उता बालेनले भने एमाले र कांग्रेसले नगरसभा स्थगित गरेको आरोप लगाएका छन्। ‘एमाले-काङ्ग्रेसले बिपि कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नु भयो। मैले चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ,’ उनले फेसबुकमा लेखेका छन्, ‘सायद काङ्ग्रेस एमालेलाई नेपालको क्रान्तीमा उहाँहरुभन्दा धेरै काङ्ग्रेस एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला। त्यसपछी आज बस्ने नगरसभा बैठक रोकेर जानु भयो।’


