काठमाडौँ- सिधाकुरा डटकमले डार्क फाइलका नाममा प्रकाशन गरेको अडियो सामग्री नक्कली देखिएपछि तीन जनाविरुद्ध मुद्दा दायर भएको छ।
सरकारी वकिलको कार्यालय काठमाडौंले सिधाकुराका अध्यक्ष र सम्पादकसहित तीन जनाविरूद्ध मुद्दा दायर भएको हो।
सिधाकुरा डटकमका अध्यक्ष तथा प्रस्तोता युवराज कँडेल, कार्यकारी सम्पादक नवीन ढुंगाना र राजकुमार तिमल्सिनाविरूद्ध मुद्दा दायर भएको हो। विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको र अपमानजनक व्यवहारसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको हो।
सिधाकुराले डार्क फाइल भन्दै प्रकाशन गरेको अडियोसहितको सामग्री नक्कली देखिएपछि मुद्दा दायर भएको सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ।
उक्त अडिओ तिमल्सिनाले उपलब्ध गराएको भनिएको थियो। तीनै जनालाई फरार प्रतिवादी बनाएर अदालतमा पेस भएको हो।
सर्वोच्च अदालतले वैशाख २३ गते आदेश गरेपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले डार्क फाइलको अडिओ प्रकरणमा छानबिन गरेको थियो। उक्त अडिओ नक्कली रहेको पत्ता लगाएको थियो।
अधिवक्ता किशोरकुमार विष्ट, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, प्रहरी उपरीक्षक संजयसिंह थापा, क्याप्टेन रामेश्वर थापा, पत्रकार सुरेन्द्र काफ्ले लगायतले मुद्दा सेटिङ गर्न घुस मागेको उक्त फेक अडियोमा दाबी गरिएको थियो।


