काठमाडौँ- पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढाउन माग गर्दै प्रधानमन्त्रीलाई मागपत्र बुझाएका छन्। डा भट्टराईले प्रधानमन्त्रीलाई सिंहदरवारस्थित कार्यालयमा भेटेर यस्तो आग्रह गरेका हुन्।
भट्टराईले बुझाएको तीनबुँदे मागको पहिलो नम्बरमा अहिलेको विद्युत प्राधिकरण अन्तर्गतको सहायक कम्पनीको रूपमा रहेको कमजोर संरचनालाई खारेज गरी अधिकार र साधनस्रोत सम्पन्न ‘बुढीगण्डकी कोरिडोर विकास प्राधिकरण’ तुरुन्त गठन गर्न माग गरेका छन्।
प्रधानमन्त्री प्रचण्डलाई माग पत्र बुझाउन डा. भट्टराई पार्टीका नेता र गोरखाका सांसदहरुसहित सिंहदरबार पुगेका थिए।
बाबुरामकी छोरी मानुषी यमी भट्टराईले बुढीगण्डकी बहुउद्देश्यीय आयोजनाको काम भदौ मसान्तभित्र सुरु गर्न सरकारलाई अल्टिमेटम दिइएको बताइन्। ‘हामीले भदौ मसान्तसम्मको समय दिएका छौँ,’ उनले भने, ‘आयोजना सुरु नभए हामी आन्दोलनमा जान्छौँ।’
तर आयोजना सुरु हुनेमा भने भट्टराईले आशंका व्यक्त गरेका छन्। उनले बुझाएको ज्ञापनपत्र बुझेपछि प्रचण्डले आफ्नो कार्यकाललाई सफल बनाउन यो आयोजनाले सहयोग गर्ने बताएका थिए। तर बाबुरामले भने प्रचण्ड पुरानो मित्र भएकाले उनका सबै बानी आफूलाई थाहा भएकोसमेत उल्लेख गरेका थिए।
प्रधानमन्त्री प्रचण्डलाई मागपत्र बुझाउनुअघि डा. भट्टराईले गोरखाका नेता, सांसद र स्थानीयसँग पनि यसबारे छलफल गरेका थिए।


