काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले अनेक कुराको रुवाबासी गर्ने गरेको टिप्पणी गरेका छन्।
जननेता एवम् नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७३औँ जन्मजयन्तीको अवसरमा शुक्रबार मदन भण्डारी फाउन्डेसनले ललितपुरको च्यासलमा आयोजना गरेको कार्यक्रममा ओलीले यस्तो टिप्पणी गरेका हुन्।
दर्शकले कार्यक्रममा माधव नेपाललाई खोजेपछि ओलीले यस्तो टिप्पणी गरेका थिए। ओलीले उनले राम्ररी बुझ्दै नबुझी जो कसैलाई कार्यक्रममा बोलाउन नहुने तर्क गरेका थिए।
‘नबुझी कसैलाई पनि बोलाउन राम्रो हुँदैन । उहाँ (माधव नेपाल) सँग मैले धेरै पकट भेटेको छु’, उनले भने, ‘यहाँ आएपछि उहाँले आफ्नो गुनासो मात्रै सुनाउने, रूवाबासी गरेर कार्यक्रम नै चल्न दिनुहुन्न। किन बोलाउनू?’
ओलीले कार्यक्रमलाई सम्बोधनका क्रममा मौका मिले जनताको बहुदलीय जनवाद भन्ने मौका नमिले होइन भन्ने प्रवृत्ति गलत रहेको बताए ।
‘जबजबारे ओठे भक्तिले मात्रै हुँदैन। आफ्नो स्वार्थ पूरा गर्न जबज होइन। मौका मिले जबजलाई कार्यक्रम मान्ने नमिले नमान्ने हुँदैन’, कार्यक्रममा ओलीले भने भने, ‘अझै राम्रै मौका मिले सिद्धान्त हो, नभए हुन्न भन्ने हुँदैन। जबजमा हाम्रो निष्ठा स्वार्थी र मौकापरस्त हुनु हुँदैन। मदन भण्डारीले अघि सारेको जबजलाई कसरी छाड्ने भन्नेतिर जाने होइन। देशलाई अघि बढाउन मदन भण्डारीले नेकपा एमालेमार्फत जबज प्रतिपादन गर्नु भएको हो।’


