काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन नेकपा विभाजन रोक्न आफूले पहल गरेको भएपनि सफल हुन नसकेको बताएकी छन्।
२०७७ सालमा आफू राष्ट्रपति हुँदा नेकपा विभाजन भएको र त्यसले आफूलाई असह्य पीडामा पुर्याएको तत्कालीन राष्ट्रपति भण्डारीको भनाइ छ।
शुक्रबार मदन भण्डारी प्रतिष्ठानले धुलिखेलमा गरेको कार्यक्रममा आफू राष्ट्रपति भएको बेला पनि दलमोह भने त्याग्न नसकेको खुलासा गरिदिएकी हुन्।
दलको मोहकै कारण आफूले नेकपा विभाजनलाई रोक्न प्रयास गरेकोसमेत उनको भनाइ छ।
‘०७७ को कुरा हो। त्यतिबेला मलाईभन्दा बढी पीडा कसलाई थियो होला?’, भण्डारीले भनिन्, ‘झन्डै दुई तिहाइ मत ल्याएको पार्टी यदुवंशी भएर झगडा गरेर फुटेर टुक्राटुक्रा हुन्छ भने मलाई एकदमै चिन्ता हुनु स्वाभाविक हो।’
यति भनेपनि उनले आफूले राजनीति भने नगरेको भण्डारीको जिकिर छ। आफूले राजनीति नगरेपनि राजनीति गरेको भनेर आरोप लागेको भण्डारीको दाबी छ।
‘यो राजनीति होइन। यो राष्ट्रका लागि, राजनीति गर्नुपर्छ भने पनि गर्नुपर्छ। एजेन्सी खेल्ने। पार्टी नफुटाऔँ भन्दा राजनीति हुने? मैले थाहा पाएरै गरेको हुँ’, भण्डारीले भनिन्, ‘पाँच महिनामा महाधिवेशन हुन्छ भनेर पर्खन आग्रह गर्दा पनि नेताहरूले मान्नुभएन।’
उनले अगाडि भनिन्, ‘तपाईं पूर्वराष्ट्रपति भएर यस्तो भन्नुहुन्छ। हिजो एमालेको नेता हुनुहुन्थ्यो। एमालेचाहिँ किन नमिलाएको भन्ने पर्न सक्ला। कोसिस त मैले धेरै गरेको। मैले एमालेको लागि होइन, देशका लागि गरेको जनतालाई सम्झेर। राजनीति भनेको राष्ट्रसेवा हो। यो व्यवसाय होइन। समाजसेवा, राष्ट्रसेवा हो।’
त्यसवेला आफूले खुट्टा समातेर ढोग्न मात्र नसकेको भन्दै नेताहरूले विपक्षसँग साँठगाँठ गरेकाले समस्या आएको बताइन्।
उनले एमाले जब अलि अघि बढ्छ त्यतिबेला ठेस लाग्ने गरेको बताइन्। ०५० सालमा जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्याले राष्ट्रले ठुलो घाटा बेहोरेको बताइन्।
‘पार्टी विभाजन गरेर कलंकको टीका नलगाउनुस् भनेको, खरानी हुन तयार छु भने’, भण्डारीले नेता वामदेव गौतमप्रति लक्षित गर्दै भनिन्, ‘अहिले खरानी भएका छन् । सिंगो दलका नेता हुने मान्छे।’


