पोखरा- गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्रीमा फणिन्द्र देवकोटा पुन: नियुक्त भएका छन्।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले देवकोटालाई मन्त्रीमा नियुक्त गरेका हुन्।
आइतबारै प्रदेश सभा सदस्य देवकोटाले मन्त्रीका रूपमा शपथ लिइसकेका छन्।
देवकोटा यसअघि पनि ऊर्जा मन्त्री नियुक्त भएका थिए। नेकपा (माओवादी केन्द्र)ले कारबाही गरेसँगै प्रदेशसभा सदस्य र मन्त्री पदबाट उनी पदमुक्त भएका थिए।
गण्डकी मुख्यमन्त्री पाण्डेलाई विश्वास मत दिएपछि उनलाई माओवादीले कारबाही गरेको थियो।
यसविरूद्ध देवकोटा सर्वोच्च अदालत गएका थिए।
सर्वोच्चले नेपाल समाजवादी पार्टीका सांसद देवकोटालाई माओवादीले कारबाही गर्न नमिल्ने बताएको थियो।
गत प्रदेशसभा निर्वाचनमा देवकोटाले माओवादी केन्द्रको चिह्नबाट चुनाव जितेकाले उनी आफ्नै पार्टीको भएको भन्दै माओवादीले कारबाही गरेको थियो।
तर सर्वोच्ले उनलाई प्रदेश सभा सदस्यका रूपमा काममा लगाउन कुनै बाधा नपुर्याउन आदेश दिएपछि देवकोटा फेरि मन्त्री बनेका हुन्।


