काठमाडौँ- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ता सुमधुर र सकारात्मक भएको बिफ्रिङ गरेका छन्।
आफ्नो निवास बुढानीलकण्ठमा सोमबार अपराह्न बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा देउवाले ओलीसँगको भेटवार्ता सकारात्मक भएको बताएका हुन्।
बैठकपछि पत्रकारहरूसँग काँग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले देउवा र ओलीबिच सकारात्मक कुराकानी भएको बताए। ‘बालकोटमा पूर्वप्रधानमन्त्री ओलीसँग अत्यन्तै सौहार्दपूर्वक भेट भएको छ। सकारात्मक कुराहरू छन्। यसका बारेमा अहिले धेरै टिप्पणी नगरौँ,’ देउवाका भनाइ उद्धृत विश्वकर्माले भने।
विश्वकर्माका अनुसार ओलीले देउवालाई चिया खान निवास बालकोटमा बोलाएपछि सभापति देउवा गएका थिए। ‘अहिले ओलीजीसँग सुमधुर र सकारात्मक छ,’ देउवाको भनाइ थियो। बैठकमा भ्रातृ संस्था र समसामयिक राजनीतिक घटनाक्रममा कुराकानी भएको उनको भनाइ छ।
