काठमाडौँ- सहकारी संस्थाको बचत दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले दलहरूसँग लिखित सुझाव माग गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको सातौँ बैठकले यस्तो निर्णय गरेको छानबिन समितिका संयोजक सूर्य थापाले जानकारी दिए। मंगलबार नै समितिले राष्ट्रिय सहकारी महासङ्घकी अध्यक्ष ओमदेवी मल्ल र महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाहाङसँग सुझाव लिएको थियो।
यस्तै, महासंघका पूर्वअध्यक्षहरू मीनराज कँडेल, डीबी बस्नेत, बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकाल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती र सीआईओ बद्री गुरागाईँ छलफल गरिएको छ।
२९ वटा सहकारी क्षेत्रको समस्या समाधानबारे महत्त्वपूर्ण सुझाव उपलब्ध गराएको थापाले बताए।
यस्तै बैठकले सहकारी क्षेत्रको बचत अपचलन, ठगी र बचत फिर्ताबारे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई सुझावहरू लिखित रूपमा उपलब्ध गराउनसमेत पत्राचार गर्ने निर्णय गरेको छ।


