काठमाडौँ– नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेको छ।
बुधबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई यस्तो आग्रह गरेको हो। सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा कार्यसम्पादन समितिको बैठक बसेको थियो।
‘अहिलेको यथार्थ राजनीतिक परिस्थितिको ठिक मूल्यांकन गर्दै मार्गप्रशस्त गरिदिन हामीले आज प्रधानमन्त्रीलाई आग्रह गरिएको छ,’ बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने, ‘एमालेले पनि प्रधानमन्त्रीलाई अनुरोध गरिसकेको छ। प्रधानमन्त्रीले मार्गप्रशस्त गरेमा तुरून्त नयाँ सरकार बन्छ। तर संविधानअनुसार उहाँले विश्वास मत लिन खोजे एक महिना समय त पाउनु हुन्छ।’
प्रधानमन्त्री दाहालले परिस्थितिलाई ठिक ढंगले बुझ्ने भएकोले मार्गप्रशस्त हुने विश्वास उनको छ। बैठकले नेकपा एमाले र कांग्रेसबीच सत्ता सहकार्य गर्ने समझदारीलाई अनुमोदन पनि गरेको छ।
सुशासन, स्थायित्व, आर्थिक समृद्धिका लागि एमालेसँग सहकार्य गर्ने समझदारी बनेको र त्यसैलाई अनुमोदन गरिएको प्रवक्ता प्रकाशशरण महतले बताए। कांग्रेस-एमाले गठबन्धनमा अन्य दलहरूलाई पनि संवादमा ल्याइने उनको भनाइ छ।
‘सरकारको नेतृत्व सुरूमा एमाले अध्यक्ष ओली र चुनाव गराउने गरी सभापति देउवा प्रधानमन्त्री बन्ने समझदारी बनेको छ,’ उनले भने, ‘राष्ट्रिय सहमति नै बनाउने कोसिस भइरहेको छ।’
कांग्रेस र एमालेले प्रचण्डलाई हटाएर नयाँ सरकार बनाउने समझदारी असार १७ गते गरेका थिए।
त्यतिबेलै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी भएको अनौपचारिक रुपमा सार्वजनिक भएको थियो।


