काठमाडौँ- तोकिएको समयमा महाधिवेशन सम्पन्न गर्न नसक्ने भातृसंस्थालाई नेपाली कांग्रेसले पुरस्कार दिएको छ।
महाधिवेशन नगरेका १० वटा भ्रातृ संस्थाको म्याद थप गरी कांग्रेसले पुरस्कृत गरेको हो।
बुधबार बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय कार्यसम्पादन समितिले नेविसंघलगायत १० भ्रातृसंस्थाको म्याद थप गर्ने निर्णय गरेको हो।
कांग्रेसले गत असार १५ गते म्याद सकिएका भ्रातृसंस्थाको म्याद थप गर्ने निर्णय १७ गते नै भएको बताइएको छ।
महाधिवेशन नगरेका भ्रातृ संघहरू नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल दलित संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल थारू संघलाई महाधिवेशन गर्ने गरी म्याद थप गरिएको कांग्रेसले जनाएको छ।
साथै निर्देशक समितिहरूलाई २०८१ चैत्र मसान्तसम्म अनिवार्य रुपमा भ्रातृ संघको महाधिवेशन गर्न पनि निर्देशन दिइएको बैठकपछि मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
नेविसंघलगायत भ्रातृ संस्था तदर्थ समितिको भरमा छ। लामो समयदेखि महाधिवेशन हुन सकेको छैन।


