काठमाडौँ– चालु आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय वार्षिक १ हजार ३९९ अमेरिकी डलर (१ लाख ८२ हजार ६ सय ८३ रुपैयाँ) पुगेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष ०७९/८० को वार्षिक राष्ट्रिय लेखा तथ्यांकसम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो।
गत वर्ष नेपालीको प्रतिव्यक्ति आय १ हजार ३ सय ८१ अमेरिकी डलर पुग्ने प्रारम्भिक अनुमान गरिएको थियो। कार्यालयका अनुसार नेपालको अर्थतन्त्र (जीडीपी) को आकार ५३ खर्ब ८१ अर्ब रूपैयाँ पुगेको छ।
कृषि क्षेत्रले २४.१६ प्रतिशत योगदान गरेको छ। त्यस्तै, चालू वर्षको कुल गार्हस्थ्य उत्पादनमा उद्योग, विद्युत तथा ग्यास, पानीको आपूर्ति र निर्माणले १२.९ प्रतिशत योगदान दिने अनुमान कार्यालयको छ। सेवा क्षेत्रको योगदान भने ६२.४ प्रतिशत रहने विभागले जनाएको छ।
कार्यालयले चालू आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत पुग्ने अनुमान गरेको छ। सरकारले चालु आवको बजेटमा ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको थियो। गत वर्षको आर्थिक वृद्धिदर ५.६ प्रतिशत थियो।


