काठमाडौँ- सोमबार मध्यरातिदेखि एक साताका लागि सबै सरकारी खाता बन्द हुने भएका छन्।
स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता कोष प्रणाली (टीएसए) र कम्प्युटरकृत सरकारी लेखा प्रणाली (सिगास)एक साताका लागि बन्द गर्न लागिएको हो।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्था अनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)ले सञ्चालन गर्ने खाता साेमबार मध्यरातदेखि बन्द हुने महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ।
मलेनिकाका प्रवक्ता ओमप्रसाद रिजालका अनुसार कानुनमै उल्लेख भएको विषय भएको व्यवस्था कार्यान्वयन हुने बताए। कानुनमा नै उल्लेख भएको विषय भएकाले प्रलेनिका र कोलेनिकालाई खाता बन्द गर्न परिपत्र गरिरहनु नपरेको बताए।
सरकारी खाता बन्द भएसँगै सबै कार्यालयले भुक्तानी गर्ने रकम रोक्का हुन्छ। यसर्थ भोलिसम्ममा चालु आर्थिक वर्ष २०८०/८१ को बजेट भुक्तानी दायित्व फरफारक गरिसक्नुपर्ने भएकाे छ।
यद्यपि विनियोजन ऐनले ‘फ्रिज’ नहुने भनी तोकेको शीर्षकका रकम भने भुक्तानी गर्न समस्या नपर्ने मलेनिकाको भनाइ छ।
अत्यावश्यक प्रयोजनमा भएको खर्चका लागि भने मलेनिकाको सहमतिमा भुक्तानी गर्न सकिने व्यवस्था नियमावलीमा छ।
