काठमाडाैँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कमिटीको बैठक मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालय चःमतिमा बिहान ८ बजे बस्दैछ।
बैठकमा निलम्बित महामन्त्री डा. मुकुल ढकालमाथिको अनुशासनको कारबाहीबारे छलफल हुने कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
उनकाअनुसार पार्टीको अनुशासन आयोगले डा. ढकालमाथिको अनुशासनात्मक कारबाहीको प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाइसकेको छ।
त्यसबारे आइतबार बसेको सचिवालय बैठकमा प्रारम्भिक छलफल भएको उनले बताए।
गत असार १९ गते बसेको केन्द्रीय कमिटीको बैठकले ढकाललाई पार्टी महामन्त्रीबाट सात दिनका लागि निलम्बन गरेको थियो। कार्यवाहक महामन्त्री बुर्लाकोटीलाई र प्रवक्ताको जिम्मेवारी मनीष झालाई दिएको थियो।
गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा निर्वाचनमा पार्टीले जमानत जोगाउन नसकेपछि रास्वपाले महामन्त्रीलाई देश दौडाहामा पठाएको थियो। ढकालले ३८ जिल्लाका नेता कार्यकर्तासँग प्रत्यक्ष अन्तरक्रिया गरेर ३२ पेज लामो प्रतिवेदन बुझाएका थिए।
प्रतिवेदनका अंश सभापतिलाई बुझाउनुअगावै बाहिर सार्वजनिक गरेको भन्दै ढकालमाथि अनुशासनको कारबाही चलेको हो।


