काठमाडौँ- नेपाल शान्ति एवं विकास केन्द्रद्वारा सञ्चालित नुवाकोट जिल्लाको पहिलो सामुदायिक रेडियो ‘नुवाकोट एफएम’ले विद्यालयस्तरका विद्यार्थीलाई शङ्ख बजाउने तालिम दिने भएको छ।
१०६.८ मेगाहर्जमा प्रसारण हुने सो प्रसारण केन्द्रले आफ्नो १६औँ साधारणसभाका अवसरमा आगामी साउन ७ देखि १२ गतेसम्म करिब ७० बालबालिकालाई तालिम दिने निर्णय भएको केन्द्रका सचिव श्रीराम अधिकारीले जानकारी दिए।
विभिन्न विद्यालयका आठदेखि १५ वर्ष उमेर समूहका विद्यार्थी तालिममा सहभागी हुनेछन्। नुवाकोट एफएमले गत वर्ष मङ्सिर ६ गते पनि हरिबोधिनी एकादशीका अवसरमा बागमती प्रदेशस्तरीय शङ्ख बजाउने प्रतियोगिता आयोजना गरेको थियो।
‘नयाँपुस्तालाई शङ्खको महत्त्व र यसलाई बजाउने तरिकाबारे ज्ञान दिने उद्देश्यले तालिम आयोजना हुन लागेको हो,’ स्टेसन म्यानेजरको पनि जिम्मेवारी सम्हालेका अधिकारीले भने।


