काठमाडौँ- शुक्रबार बिहान सवा ३ बजे पहिरो त्रिशूलीमा खसालेका दुवै बस अझै भेटिन सकेका छैनन्।
चितवनको भरतपुर महानगरपालिका-२९ स्थित नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले त्रिशूलीमा खसालेका दुवै बस गोताखोरले चुम्बक लगाउँदा पनि नभेटिएका हुन्।
पहिरोले सोहोरेको स्थानमा बसका टुक्रा, सिसालागायतका अवशेष भेटिए पनि बस र यात्रु भेटिएका छैनन्।
त्रिशूलीमा बाढीका कारण गोताखोर र अन्य सुरक्षाकर्मीहरूले खोजीमा सकस भोग्नु परेको छ।
बसको खोजीमा नेपाली सेना र सशस्त्र प्रहरीको गोताखोर टोली परिचालित छन्। घटनास्थलमा तीनै निकायका २ सय जनाको सुरक्षा फौज परिचालित छन्।
काठमाडौँबाट गौर गइरहेको गणपति डिलक्सको बस र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एन्जल डिलक्स बस पहिरोसहित त्रिशूलीमा खसेका थिए।


