काठमाडौँ- सिद्धार्थ हस्पिटालिटी अन्तर्गतको सिद्धार्थ इन्टरनेसनल होटल लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ।
आईपीओ जारी गर्न लागेको कम्पनी ‘सिद्धार्थ इन्टरनेसनल होटल लिमिटेड’अन्तर्गत बौद्धस्थित चारतारे स्तरीय सिद्धार्थ बुटिक होटल र रुपन्देहीको भैरहवास्थित पाँचतारे सिद्धार्थ भिलासा सञ्चालनमा छन्।
मंगलबार बिहान आईपीओ निष्कासन सम्बन्धमा सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका अध्यक्ष चिन्तामणि (लक्षमण) न्यौपाने र मुक्तिनाथ क्यापिटलका तर्फका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कविन्द्र ध्वज जोशीले हस्ताक्षर गरे।
अध्यक्ष न्यौपानेले चालु आर्थिक वर्षमै आईपीओ निष्कासन गरिने जानकारी दिए। उनका अनुसार कूल जारी पुँजीको १० प्रतिशत सेयर सर्वसाधारणमा ल्याउन लागिएको हो।
सिद्धार्थ हस्टिपालिटीअन्तर्गत पाँचतारे स्तरमा सिद्धार्थ भिलासा, चारतारे स्तरमा सिद्धार्थ वैभव र तीनतारे स्तरमा सिद्धार्थ बाटिका ब्रान्डका साथै हस्पिटालिटी एजुकेसन, रेस्टुरेन्ट, कटेज, क्याफे, कृषि फार्म, ट्रेडिङ, आइटीलगायत दुई दर्जनभन्दा बढी कम्पनी सञ्चालनमा छन्।
