काठमाडौँ- न्यूरोडको फुटपाथ विस्तारको विरोध गर्दै आन्दोलित स्थानीयसँग काठमाडौं महानगरपालिकाले सहमति गरेको छ।
सहमतिअनुसार वडा नम्बर २४ को फुटपाथ विस्तार सम्पन्न गरिनेछ भने अरुतिर मंसिरसम्म रोकिने छ।
मेयर, उपमेयर, प्रशासकीय प्रमुख र वडाध्यक्षहरूबीच सोमबार भएको वार्तामा वडा नम्बर २४ मा भएको फुटपाथ विस्तारलाई सम्पन्न गर्ने र यसले आर्थिक, समाजिक सांस्कृतिक र आवतजावतमा पार्ने प्रभावबारे अध्ययन गर्ने सहमति भएको छ।
यो अध्ययन रिपोर्टका आधारमा वडा नम्बर २२ र २३ को फुटपाथबारे निर्णय हुनेछ। वडा नम्बर २३ का वडाध्यक्ष मचाराजा महर्जनले भने, ‘२२ र २३ मा विस्तार गर्न बाँकीको हकमा सबै वस्तुस्थिति अध्ययन गरेपछि आउने निचोडलाई आधार मानेर अगाडि बढ्ने छौं।’
उनका अनुसार अध्ययन समितिको नेतृत्व सहरी योजना आयोगका उपाध्यक्ष सुमनराज भण्डारीले गर्नेछन्। वडा नम्बर २२, २३ र २४ का वडाध्यक्ष सदस्य हुनेछन्। वडा नम्बर २२ ले २ जना र २३र२४ वडाले एकएक जना विषयविज्ञ सदस्य दिनेछन्।
निर्माण विभागका विभागीय प्रमुख सुरज शाक्य सदस्य सचिव रहने यो समितिले २ मंसिरमा प्रतिवेदन बुझाउनुपर्ने छ। समितिले प्रतिवेदन तयार पारेपछि स्थानीयबासीसँग छलफल गर्ने वडाध्यक्ष महर्जनले बताए।
यो सहमतिसँगै वडा नम्बर २२ को आन्दोलन रोकिएको वडाध्यक्ष चिनीकाजी महर्जनले जानकारी दिए । उनले अगाडि भने, ‘आज साँच्चै जनताको जित भएको छ।’


