पोखरा- गण्डकी प्रदेशका यातायात व्यवसायीले आइतबार (आज) सार्वजनिक सवारी साधन नचलाउने भएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिले यस्तो निर्णय लिएको हो।
निजी सवारी साधन (रातो प्लेट)लाई पनि यात्रु ओसारपसार गर्न दिने गरी गण्डकी सरकारले कार्यविधि बनाउन लागेको भन्दै तत्काल खारेज गर्न माग गर्दै यातायात बन्द गरेका हुन्।
सरकारको उक्त निर्णय फिर्ता लिन माग गर्दै व्यवसायीले ४८ घण्टे अल्टिमेटम दिएका थिए। तर म्याद सकिए पनि सकारकले कुनै पहल नगरेको भन्दै यातायात व्यवसायी यातायात रोकेर आन्दोलनमा उत्रिएका हुन्।
गण्डकी प्रदेश सरकारले व्यवसायीको पक्षमा कुनै निर्णय नगरेको भन्दै आइतबार यात्रुबहाक र मालवहाक सवारी साधन घर तथा ग्यारेजमा थन्काउने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशका सचिव योगेन्द्र बहादुर केसीले बताए।
‘हामीले ४८ घण्टे अल्टिमेटम दिएका थियौं। यो सरकारले हाम्रो मागलाई कुनै ध्यान दिएन। त्यसैले आज हामीले सार्वजनिक सवारी साधन ठप्प गर्ने निर्णय गरेका हौँ,’ उनले भने, ‘आज पनि केही सकारात्मक जवाफ आएन भने प्रदेशदेखि देशभर नै अनिश्चितकालका लागि यातायात बन्द गर्छौं।’
निजी सवारी (दुई तथा चार पाङ्ग्रे)लाई सार्वजनिक सवारी सरह यात्रु ओसारपोसार गर्न बनाउन लागेको कार्यविधिलाई तत्काल खारेज गर्नुपर्ने महासंघको माग छ।
यस्तै यातायात प्राविधिकरण गठन गरी यातायात सञ्चालनको कार्यविधि तयार गर्न, यातायात मजदुर र व्यवसायीको सुरक्षाको ग्यारेन्टी गर्न, श्रम आयोग गठन, वैज्ञानिक भाडादर समयानुकुल समायोजन गर्न, सडक सुरक्षा योजना लागू गर्नुपर्ने उनीहरुको माग छ।
महासंघले प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री मन्त्री राजीव गुरुङ (दीपक मनाङे)को कार्यशैलीको पनि विरोध गरेको छ। मनाङेले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै फिर्ता लिनुपर्ने व्यवसायीको माग छ।


