काठमाडौँ– शुक्रबार छापावाला सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।
बिहीबार १६ सय रुपैयाँले बढेको सुन शुक्रबार ४०० रुपैयाँले थप बढेर रेकर्ड बनाएको हो।
शुक्रबार एक तोला सुन किन्न १ लाख ४९ हजार ९०० रुपैयाँ तिर्नुपर्ने भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार यो मूल्य १ लाख ३७ हजार ४५० रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य बिहीबारको तुलनामा घट्दै प्रतितोला १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ४५७.३२ डलर र चाँदी २८.८५ डलरमा कारोबार भइरहेको छ, जसका आधारमा नेपालमा मूल्य निर्धारण गरिएको छ।


