मकवानपुर- प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई-मधेस द्रूतमार्ग (फास्ट ट्र्याक) सडक आयोजनाअन्तर्गत घट्टेपाँखा–धेद्रे सुरुङक ‘ब्रेक थ्रु’ गरेका छन्।
मकवानपुरको बकैया गाउँपालिका–१२ धेद्रेमा सोमबार दिउँसो प्रधानमन्त्री ओलीले काठमाडौं-निजगढतर्फको १.७२८ किमी लामो सुरुङ ब्रेक थ्रु गरेका हुन्।
निजगढ–कामाठाडौंतर्फको १.६५३ किमी धेद्रे सुरुङ भने गत जेठ ११ गते नै ‘ब्रेक थ्रु’ भइसकेको छ।
धेद्रे सुरुङ छिचोलिएसँगै प्याकेज नं दुईअन्तर्गतका सबै सुरङ खोल्ने काम सम्पन्न भएको छ।
यसअघि जेठ ४ गते फास्ट-ट्र्याकको लेनडाँडा सुरूङमार्ग वारपार (ब्रेक थ्रु) भएको थियो। द्रुतमार्गमा कम्तीमा आउने र जाने सुरुङ बनाउने काम भइरहेको छ।
सोमबारको कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले आयोजनाको हालसम्मको निर्माण प्रगति र चुनौतीबारे प्रधानमन्त्री ओलीलाई अवगत गराएका थिए।
आयोजनाको भौतिक प्रगति ३५ दशमलव ९८ प्रतिशत रहेको जानकारी गराए।
मन्त्रिपरिषद्को २०७४ वैशाख २१ गतेको निर्णयानुसार सो आयोजना निर्माण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिइएको थियो।
आयोजनाको २०७४ जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको निजगढमा शिलान्यास गरेका थिए।
सरकारले २०७४ साउन २७ गते सडक विभागबाट सेनालाई आयोजना हस्तान्तरण गरेको थियो।
