काठमाडौँ- अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट तयारीका लागि पूर्वअर्थमन्त्रीहरुसँग छलफल गरेका छन्। शुक्रबार भएको छलफलमा सहभागी पूर्वअर्थमन्त्रीहरुले व्यावहारिक बजेट तयार गर्न, खर्च कटौतीमा निर्मम बन्न र नयाँ आयोजना नथप्न सुझाव दिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ।
छलफलमा पूर्वअर्थमन्त्रीहरु ज्ञानेन्द्रबहादुर कार्की, डा. प्रकाशचन्द्र लोहनी, डा. युवराज खतिवडा, विष्णु पौडेल र सुरेन्द्र पाण्डे सहभागी थिए।
छलफलका क्रममा अर्थमन्त्री डा. महतले अहिलेको जटिल अवस्थालाई सम्बोधन गर्ने गरी बजेट तयार गर्न आफू प्रयासरत रहेको र यसका लागि सबैबाट सहयोग मिल्ने विश्वास व्यक्त गरेका थिए।
राजश्व कम उठेको अवस्थामा खर्च कटौती गर्ने, प्राथमिकता प्राप्त आयोजनाहरुलाई मात्र बजेट छुट्टाउने र नीजि क्षेत्रको आत्म विश्वास बढाउन आफू लागी परेको जानकारी महतको भनाइ थियो।
प्रतिफल नदिने आयोजनामा लगानी नगर्ने, ताेकिएकाे समयमै सम्पन्न हुने आयोजनाका लागि बजेट कम हुन नदिने उनको भनाइ थियो। अर्थमन्त्री महतले पूर्वअर्थमन्त्रीहरुबाट समेत निरन्तर सुझाव प्राप्त हुने विश्वास आफूले लिएको व्यक्त गरकेा थिए।
