काठमाडौं– नियामक निकाय बिमा प्राधिकरणले नेपालमा ४४.५५ प्रतिशत नागरिक बिमाको पहुँचमा आएको विवरण सार्वजनिक गरेको छ। चालू आर्थिक वर्ष २०७९/८० को चैत मसान्तसम्मको विवरण सार्वजनिक गर्दै प्राधिकरणले ४४.५५ प्रतिशत नागरिक बिमाको पहुँचमा पुगेको बताएको हो।
गत आव २०७८/७९ को सोही अवधिमा ३७.३५ प्रतिशत नागरिक बिमाको पहुँचमा रहेकामा एक वर्षमा ७ प्रतिशत बिन्दु बढीले वृद्धि भएको छ। तथ्यांकमा म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बिमालेखसमेत समावेश रहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार चैत मसान्तसम्म १ करोड ४१ लाख ६५ हजार ९९८ बिमालेख जारी भएको छ। यीमध्ये जीवन बिमालेख संख्या ५५ लाख ७२ हजार ५२, म्यादी तथा लघु म्यादी जीवन बिमालेख संख्या ७१ लाख ३४ हजार ६३१ र वैदेशिक रोजगार बिमालेख संख्या ८ लाख ५२ हजार ८२७ पुगेको प्राधिकरणले जनाएको छ।
२०७८ चैत मसान्तसम्म १ करोड १७ लाख ९१ हजार ६९८ रहेको बिमालेख संख्या एक वर्षमा २०.१४ प्रतिशतले वृद्धि भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ। म्यादी, लघु म्यादी तथा वैदेशिक रोजगार जीवन बिमालाई हटाउँदा भने जीवन बिमा गर्ने नेपाली १७.४३ प्रतिशत पुगेको छ।
चालू आवको चैत मसान्तसम्म जीवन बिमा कम्पनीले कुल १ खर्ब ४ अर्ब ७३ करोड ४८ लाख बिमाशुल्क संकलन गरेका छन्, जुन गत आव सोही अवधिको तुलनामा २.१४ प्रतिशतले बढी हो।
