ललितपुर- ललितपुरको महांकाल गाउँपालिकाले दूध तथा दुग्ध/दूधजन्य पदार्थमा कर लगाएको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै दूध तथा दुग्ध पदार्थमा कर लगाइएको जानकारी गराएको हो।
गाउँपालिका क्षेत्रमा व्यावसायिक रुपमा वा गैरव्यावसायिक रुपमा पशुपालन गर्दै आएका कृषकका लागि अनिवार्य रूपमा साउनदेखि कर लगाइने गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसीले जारी गरेको सूचनामा उल्लेख छ।
उनका अनुसार एक लिटर दूधमा २० पैसा कर लगाइने उल्लेख छ।
पालिकाका अनुसार ‘दूध वा दुग्धजन्य पदार्थ दूध संकलन केन्द्र, डेरी उद्योग, दुग्धजन्य पदार्थ ढुवानीकर्ताले यस गाउँपालिकाको गाउँसभाबाट स्वीकृत आर्थिक ऐन, २०८१ अनुसार दुध तथा दुग्धजन्य पदार्थ विक्री वितरणमा ०.२० (बीस) पैसा प्रतिलिटरका दरले कर अनिवार्य गर्ने व्यवस्था गरिएको’ छ।
यस्तै दर्ता हुन छुटेका दूधको कारोबार गर्ने संस्थालाई दर्तामा आउन समेत गाउँपालिकाले भनेको छ। यस्ता संस्थाले हरेक महिनाको बुझाउनु पर्ने रकम दोश्रो महिनाको पहिलो साताभित्र बुझाउनसमेत गाउँपालिकाको निर्देशन छ। यसरी सूचीकरण नगे नगराए गाउँपालिका वा अन्यत्र निकायबाट प्रदान सेवा दिन गाउँपालिका बाध्य नहुने चेतावनी समेत दिइएको छ।
प्रत्येक दुग्ध व्यवसायीले किसानको नाम नामेसी र सङ्कलित दूधको परिमाणसमेत गाउँपालिकामा उपलब्ध गराउनुपर्नेछ। दूधमा समेत कर लगाइएको भन्दै सामाजिक सञ्जालमा यसको आलोचना भइरहेको छ।


