काठमाडौं- शोधनान्तर बचत ५ खर्ब नाघेको छ। एक वर्षमा अहिलेसम्मकै उच्च शोधनान्तर बचत हुँदा चालु खाता बचत पनि सवा २ खर्ब नघेको छ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०\८१ को प्रतिवेदनअनुसार शोधनान्तर बचत ५ खर्ब २ अर्ब ४९ करोड रुपैयाँ पुगेको हो। यो अहिलेसम्मकै उच्च शोधनान्तर बचत हो। चालु खाता पनि २ खर्ब २१ अर्ब ३४ करोडले बचतमा रहेको छ।
शोधनान्तर बचत हुनु वाह्य क्षेत्रबाट विदेशी मुद्रा आप्रवाह बढ्नु हो भने घाटा भएमा विदेशी मुद्रा बाहिर जान्छ। यस वर्ष वैदेशिक व्यापार लगभग स्थिर रहेको र रेमिट्यान्स तथा सेवा क्षेत्रमा सुधार आएको कारणले शोधनान्तर बचतमा उल्लेख्य वृद्धि भएको हो।
अघिल्लो आर्थिक वर्ष २०७८र७९ मा २ खर्ब ५५ अर्ब घाटामा रहेको शोधनान्तर स्थिति २०७९\८० मा २ खर्ब ८५ अर्ब ८२ करोडले बचतमा परिणत भएको थियो।
चालु खाता सन्तुलन भने गत वर्ष घाटामा भए पनि यो वर्ष उच्च दरमा बचतमा रह्यो। पूँजीगत ट्रान्सफर २२.९ प्रतिशतले घटेर ५ अर्ब ८१ करोड पुगेको छ, जबकि खुद प्रत्यक्ष वैदेशिक लगानी ८ अर्ब ४० करोड कायम भएको छ। यो अवस्था अघिल्लो आव भन्दा सुधारिएको हो।


