काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका तीन वटा हेलिकोप्टर ग्राउन्डेड गरेको छ। संखुवासभाको भोटखोला गाउँपालिकामा हेलिकोप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएपछि कम्पनीका बाँकी हेलिकोप्टरलाई ग्राउन्डेड गरिएको हो।
जिल्लाको भोटखोला गाउँपालिका–४, सिपरुङमामा नाइन एन एजेजेड रजिस्ट्रेसन रहेको हेलिकोप्टर अवतरणका क्रममा शुक्रबार दुर्घटनामा परेको थियो। हेलिकोप्टरमा सवार पाँचमध्ये घाइते चार जनाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।
प्राधिकरणको हवाई सुरक्षा विभागले कम्पनीका बाँकी हेलिकोप्टरको विस्तृत निरीक्षण, उडान योग्यता, हवाई सुरक्षा व्यवस्थापन प्रणालीको अडिटयसलगायत परीक्षण नहुन्जेल उडानमा प्रतिबन्ध लगाएको हो। सुरक्षा जाँचका लागि काठमाडौंबाहिर रहेका हेलिकोप्टरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फिर्ता बोलाइएको छ।


