काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालय मातहतका निकायले आफ्ना काम चुस्त र परिणाममुखी बनाउन निर्देशन दिएका छन्।
बुधबार संस्कृति महाशाखा अन्तर्गतका निकायका पदाधिकारीसँग समस्या तथा चुनौती र समाधानका उपाय विषयक छलफल कार्यक्रममा उक्त निर्देशन दिएका हुन्।
‘मन्त्रालयमा कुन फायल कहाँ अड्किएको छ त्यसको २४ घण्टा भित्र छिनोफोनो गर्नुहोला,’ असोज महिनाभित्र सबै निकायले कार्यप्रगति विवरण मन्त्रालयमा पेस गर्न कर्मचारीलाई निर्देशन दिँदै उनले भनेका थिए, ‘त्रैमासिक समीक्षा गर्ने बेलासम्म बजेट भाषण र रेडबुकमा परेका कार्यक्रमहरुको बारेमा अनिवार्य रुपमा जानकारी गराउनुहोला। असोजअघि नै योजना कार्यान्वयनका लागि केके गर्छाैं? गर्न सक्ने कार्यक्रमहरु के के हुन् ? गर्न नसक्ने काम के के हुन ? यस सन्दर्भमा अनिवार्य रुपमा गृहकार्य गर्नुहोला।’
मन्त्री पाण्डेले कामको प्राथमिकता निर्धारण गरि सोही अनुसार दिएर अघि बढ्न समेत निर्देशन दिए। त्यस्तै उनले नीतिगत सुधारका लागि समेत मन्त्रालयले चुस्त शैलीमा काम गर्दै अघि बढ्नु पर्ने बताए।
कर्मचारीले इमान्दारी पूर्वध व्यावसायिक धर्म निर्वाह नगर्दा काममा ढिलो हुने बताउँदै, मन्त्री/कर्मचारीले नुनको सोझो गर्नकै लागि भएपनि नतिजा दिने गरी काम गर्नुपर्ने उनको भनाइ छ।
कानुन निर्माणका विषयमा उनले तीन दिनभित्र अन्तरमन्त्रालयका कामसमेत सम्पन्न हुने व्यवस्था गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल भइरहेको पनि उनको भनाइ थियो।


