काठमाडौँ- सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानमा बोलाएको छ।
लामिछानेलाई साेधपुछका लागि शुक्रबार २ बजे बोलाइएको समितिका सभापति सूर्य थापाले जानकारी दिए।
गोरखा मिडिया नेटवर्क प्रालिका प्रबन्ध निर्देशकको हैसियतमा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई बयानका लागि बोलाएको हो।
विभिन्न सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा गएको देखिएपछि प्रतिनिधि सभाले छानबिन समिति बनाएको थियो। कम्पनीका तत्कालीन पदाधिकारीको खातामार्फत् सहकारीको रकम गोरखा मिडियामा गएको थियो।
समितिले गोरखाका सञ्चालकहरूलाई बोलाएर सोधपुछ गरिरहेको छ।
यसअघि गोरखा मिडिया प्रालिका क्रियटिभ डाइरेक्टर तथा नोबडी प्रोडक्सन प्रालिका सञ्चालकसमेत रहेका रास्वपाका सहमहामन्त्री विपीनकुमार आचार्यसँग समितिले बयान लिएको थियो।


