काठमाडौँ- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आइतबार करिब तीन घण्टा आफूनिकट नेताहरूसँग कुराकानी गरेका छन्। विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा आइतबार साँझसम्म छलफल चलेको थियो।
छलफलमा महामन्त्री गगन थापा र केन्द्रीय सदस्य अर्जननरसिंह केसी उपस्थित भएनन्। संसदीय समितिमा व्यस्त रहेकोले उनीहरू उपस्थित हुन नसकेको बताइएको छ।
उपसभापति धनराज गुरूङ, सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य बलबहादुर केसी, हृदयराम थानी, दीपक गिरी, सरिता प्रसाईं, प्रतिमा गौतम, किरण यादव, अजयबाबु शिवाकोटी, गोविन्द पोखरेल, दिनेश कोइराला, मुक्ताकुमारी यादव, प्रकाश स्नेही, गणेश लामालगायत सहभागी थिए।
आइतबार दिउँसो २ बजेदेखि अपराह्न ५ बजेसम्म उक्त छलफल चलेको थियो। छलफल गराउनका लागि गुरुङ सक्रिय बनेका थिए।
भेटमा कोइरालाले समसामयिक राजनीति, जारी केन्द्रीय समिति बैठकका एजेन्डा, पार्टीको आन्तरिक विषयमा धारणा राखेका थिए। कोइरालाले २२ महिनापछि समूहका नेतासँग छलफल गरेका हुन्।
छलफलमा कोइराला समूहका नेताहरूले नै कोइरालाको आलोचनासमेत गरेका थिए। सभापति शेरबहादुर देउवाले विधि मिचेर पार्टी चलाउँदाप नि कडा प्रतिवाद गर्न नसकेको उनीहरूको गुनासो थियो। उनीहरूले देउवासँग कोइराला मिलेको सन्देश प्रवाह भइरहेको बताएका थिए।
उपस्थित नेताहरूको कुरा सुनेपछि कोइरालाले जवाफ दिएका थिए। आफू सभापति देउवासँग मिलेको भन्ने भाष्य बनाउन खोजिएको भन्दै त्यसतर्फ असन्तुष्टि जनाए।
‘शेखर त देउवासँग मिल्यो, मिल्दैछ भनेर भाष्य बनाउन खोजिँदैछ, यो गलत हो। तत्काल यस्ता भाष्य बन्द गर्नुस्,’ कोइरालाले भेलामा भनेको कुरा उद्धृत गर्दै एक नेताले भने।
कोइरालाले आफू पुन: सभापति उठ्ने संकेतसमेत गरेका थिए।


