काठमाडौँ- गौरा पर्वको अवसरमा काठमाडौँको टुँडिखेलमा पनि एक कार्यक्रम आयोजना भएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यक्रमको उद्घाटन गरे। मञ्चमा राखिएको दमाह पनि सँगै बजाएर उद्घाटन गरेका थिए।
कार्यक्रममा भिड जम्मा भएको थियो। भिडबाट नेताहरूको विरोध गर्दै केही युवाहरूले चर्को नारा लगाइरहे।
नारा चलिरहेकै बीचमा पोडियम पुगेका देउवा बोल्न लागेपछि नारा झन चर्कियो। देउवा आक्रोशित बने।
‘तपाईंहरूले जति गरे पनि बोल्नेवाला छु म। जति गरेपनि गर्नुस्। जति कराए पनि कराउनुस्। जति कराउनुपर्ने छ कराउनुस्,’ देउवाले भने।
भिड झनै आक्रमक बन्यो। त्यसपछि कार्यक्रम बिथोल्न आएकाहरू भन्दै देउवा रिसाए।
‘लाज पनि छैन, अर्काको कार्यक्रम बिथोल्ने? लाज नभएकाहरू! अर्काको कार्यक्रम बिथोल्ने? लाज छैन? यही हो तपाईंहरूको संस्कृति? यही हो तपाईंहरूको चलन? यही कुरा सिकेर आएको हो? बदमासहरू!,’ देउवाले भने, ‘आदरणीय दाजुभाई, दिदीबहिनीहरू, यस्तै छ। यहाँ गौरा पर्व सुन्न आएकाहरू छन्। गौरा खेल्न आएका छन्। गौरा पर्वको कुरा सुनुन्,’ देउवाले अघि भने, ‘यीनीहरू सुन्दैनन्, न गौरा खेल्न दिन्छन्। यस्तो अर्काको कार्यक्रम बिथोलेर बसेका छन्। यहाँ को को त्यस्ता छन्, तिनलाई ठिक पार्नुपर्छ।’


