काठमाडौँ- अमेरिकाको भर्जिनियामा आफ्नै श्रीमती ममता काफ्लेको हत्या गरेको आरोप लागेका नरेश भट्टलाई धरौटीमा रिहा गर्न अदालतले अस्वीकार गरेको छ।
सोमबार भएको थुनछेक बहसपछि भट्टलाई रिहा गर्न अदातलले अस्वीकार गरेको हो। सोमबार बिहान साढे ८ बजे भट्टलाई प्रिन्स विलियम जुभेनाइल एन्ड डोमेस्टिक रिलेसन डिस्ट्रिक्ट कोर्टमा उपस्थित गराइएको थियो।
न्यायाधीशले भट्ट भाग्नसक्ने जोखिममा रहेको र समुदायका लागि खतरा भएको भन्दै धरौटीमा रिहा गर्न अस्वीकार गरेका हुन्। नरेशका वकिलले ममता फेला नपरेकाले उनलाई धरौटीमा राख्नुपर्ने कारण नभएको जिकिर गरेका थिए। तर अदालतले उनको कुरामा विश्वस्त आधार देखेन। यो मुद्दामा अर्को सुनुवाई अक्टोबर २४ मा हुनेछ।
बिहीबार पक्राउ परेका भट्टलाई शुक्रबार अदालतमा पुर्याइएको थियो। प्रिन्स विलियम काउन्टीका अभियोजकले नरेशले नै पत्नीको हत्या गरी शव लुकाएको आरोप लगाएका छन्।
नरेशले आफ्नो टेस्ला बेचेको, सुटकेसहरू प्याक गरेको र आफ्नी श्रीमती बेपत्ता भएपछि आफ्नो घर बेच्नेबारे अरूसँग कुरा गरेको विवरण अदालतमा पेस गरेका थिए। नरेशले आफूविरुद्धको अभियोग स्वीकार गरेका छैनन्।
नरेशविरुद्ध शव लुकाएको अभियोग छ। भर्जिनियामा यो अभियोगमा कम्तीमा १ वर्षदेखि ५ वर्षसम्म जेल सजाय हुन सक्ने प्रावधान रहेको छ।
ममता काफ्ले बेपत्ता हुनुभन्दा महिनौँ अघि नरेशले ‘श्रीमतीको मृत्युपछि विवाह गर्न कति समय लाग्छ?’ भन्नेबारे गुगलमा सर्च गरेकोसमेत अभियोगपत्रमा दाबी गरिएको छ।
साउन १५ गते (जुलाई ३०) मा पति नरेशले घरमै ममताको हत्या गरेको देखिएको प्रहरीको भनाइ छ। घरकै मुख्य बेडरुममा हत्या गरी शव लुकाएको देखिन आएको प्रहरीले अदालतमा बुझाएको अभियोगपत्रमा उल्लेख छ।
बिहीबार अमेरिकाको मनाससस्थित प्रहरीले नरेशलाई शव लुकाएको आरोपमा पक्राउ गरेको थियो। पक्राउपछि प्रहरीले शुक्रबार बिहान भट्टलाई अदालतमा पेस गरेको थियो। प्रिन्स विलियम काउन्टी जुभेनाइल एन्ड डोमेस्टिक रिलेसन कोर्ट (स्थानीय अदालत)मा शुक्रबार बिहान ८:३१ बजे नरेशलाई पेस गरिएको हो।
सोमबारको आदेशपछि अब यो मुद्दाको अर्को सुनुवाइ भने कात्तिक ८ (अक्टोबर २४) का लागि तोकिएको छ। अनुसन्धानका क्रममा ममताको हत्यासँग जोडिएका पर्याप्त डिजिटल र फोरेन्सिक प्रमाण बरामद भएको प्रहरीको दाबी छ।
मनासस पार्क प्रहरी प्रमुख मारियो लुगोले पत्रकार सम्मेलन गर्दै पति भट्टले अनुसन्धानमा समन्वय नगरेको बताएका थिए। बुधबार बेलुकीदेखि नै भट्टको घरलाई घेराबन्दी गरी प्रहरीले १२ घण्टा खानतलासी गरेको थियो। सोही प्रहरीले बिहीबार नरेशलाई पक्राउ गरेको थियो।
घरभित्रै ममताको हत्या गरी घिसारेर घरबाट निकालिएको प्रमाण भेटिएको प्रहरीले अदालतमा पेस गरेको अभियोगपत्रमा उल्लेख छ।
ममता गत साउन १६ (जुलाई ३१) देखि हराएकी हुन्। अगस्ट २ मा पनि उनले काम गर्दै आएको स्थान यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा हाजिर नभएपछि सहकर्मीले ममताको अवस्था बुझिदिनका लागि स्थानीय प्रहरीलाई खबर गरेका थिए।
घरभित्रै ममताको हत्या गरी घिसारेर घरबाट निकालिएको प्रमाण भेटिएको प्रहरीले अदालतमा पेस गरेको अभियोजनपत्रमा उल्लेख छ।
ममता जुलाई २८ मा यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा देखिएकी थिइन्। यसअघि प्रहरीसँग भट्टले जुलाई ३१ मा श्रीमती ममतालाई अन्तिम पटक देखेको बयान प्रहरीमा दिएका थिए।
भट्टले प्रहरीलाई दिएको बयानमा कुरा बाझिएपछि उनीमाथि थप आशंका उत्पन्न भएको थियो।
प्रिन्स विलियम काउन्टीका एक अभियोजकका अनुसार नरेशले श्रीमतीको हत्या गरेको स्थानबाट सर्ने तयारी गरिरहेका थिए। यसका लागि उनले आफ्नो टेस्ला गाडी पनि बेचिसकेका थिए। घरमा भएका सुटकेस प्याक गरेका थिए। आफैँ हत्या गरेकी श्रीमती ममता बेपत्ता भएको भन्दै आफ्नो घर बेच्ने विषयमा पनि अरूसँग कुरा गरेका थिए। अधिकारीहरूका अनुसार यी काम उनले पुलिसबाट भाग्ने प्रयासका लागि गरेका हुन्।
प्रिन्स विलियम काउन्टीका अभियोजक सारा सामीका अनुसार प्रहरी अनुसन्धानमा ममताको घरमा नै रगतको टाटा फेला परेका थिए।
जुलाई ३० मा ममताले पछिल्लो पटक काभ्रेमा रहेका आफ्ना आमाबाबुसँग सम्पर्क गरेकी थिइन्। प्रहरीका अनुसार त्यही दिन नरेशले चक्कु किनेर ल्याएका थिए। अनुसन्धान र अभियोजनमा संलग्न अमेरिकी अधिकारी सामीले भनिन्, ‘लाइसोल र फेब्रेज किन्नका लागि नरेश लाउडौन काउन्टी वालमार्ट पनि पुगेका थिए।’ अपराध प्रमाण (रगतका टाटा)मेटाउन नरेशले यी सामग्री किनेको हुन सक्ने अधिकारीहरुको आशंका छ।
युभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा ममताका सहकर्मी होली विर्थसहितले ममताको अवस्था खोजी गरिदिन प्रहरीमा दबाब दिएका थिए। उनीहरूकै दबाब स्वरूप अनुसन्धानमा खटिएको प्रहरीले ममताको हत्या २५ दिनअघि नै भएको कुरा शुक्रबार मात्र पत्ता लगायो।
शुक्रबार र सोमबार अदालतमा पेस भएका नरेश भट्टले आफू अंग्रेजीमा ‘फ्लुअन्ट’ नभएको बयान दिएका थिए। यसपछि अदालतले उनका लागि शुक्रबार नै दोभाषे नियुक्त गरिदिएको छ। दोभाषेले अंग्रेजीमा सोधिएका प्रश्नलाई नेपालीमा उल्था गरी नरेशलाई सुनाउने र नरेशले नेपालीमा दिएको प्रतिक्रिया अंग्रेजीमा उल्था गरिदिएका थिए।
नरेशमाथि हत्या मुद्दाको अभियोजन गरिरहेकी सामीले नरेशमाथि थप आरोप लाग्न सक्ने बताएकी छन्। नरेशले आफ्नी श्रीमतीको अवस्थाबारे आफैँले दिएको बयानसँग नमिल्ने कुराहरू भनिरहेका थिए। उनले ममता फर्केर आउन सक्ने भन्दै झुक्याउन खोजेको अभियोजक सामीको भनाइ छ।
जुलाई ३० सम्म नेपालमा रहेकी आमासँग फोन सम्पर्कमा रहेकी ममता जुलाई ३१ देखि बेपत्ता भएकी हुन्। ममताका भाइका अनुसार उनले हरेक दिन बिहान र बेलुका आमालाई फोन गर्ने गर्थिन्।
उता ममता ड्युटीमा पनि जान छोडेपछि साथीहरूले खोजी गरेका थिए। दुई सिफ्टको काममा पनि ममता हाजिर नभएपछि अगस्ट १ मा विर्थलगायतका सहकर्मीहरूले प्रहरीलाई सम्पर्क गरेका थिए।
साथीहरूले रिपोर्ट गरेपछि मानसास पार्कका प्रहरी अधिकारी भोलिपल्टै नरेश र ममता बस्दै आएको घरमा पुगेको थियो। तर नरेशले ममता हराएको स्वीकार गरेनन्। प्रहरीले रिपोर्ट गर्न अनुरोध गरेको भएपनि ममता फर्केर आउने भन्दै प्रहरीमा रिपोर्ट टिपाउन अस्वीकार गरेका थिए। तर अगस्ट ५ मा आइपुग्दा भने भट्टले आफ्नी श्रीमती ममता हराएको भन्दै प्रहरीमा खबर गरे।
ममताको अवस्था बुझ्न गएका प्रहरीलाई सुरुमा नरेशले ममता टेक्सास वा न्युयोर्कमा साथीहरूलाई भेट्न गएको बताएका थिए। तर, अभियोजक भने उनका कुरामा विश्वस्त थिएनन्।
‘ममताले लगातार सामाजिक सञ्जालमा पोस्ट गरिरहन्थिन्। उनी टिकटक भिडियो बनाउन शौखिन थिइन्। उनका पोस्टहरू पनि आइरहेका थिएनन्। सबैभन्दा महत्त्वपूर्ण कुरा त उनले भर्खरै १ वर्ष पुगेकी छोरीलाई छोडेर गएकी थिइन्,’ एक अभियोजकले थपे, ‘यो देश (अमेरिका)मा उनको परिवारका कोही पनि छैनन् भन्ने कुरा नोट गर्नु महत्त्वपूर्ण छ।’
बुधबार पुलिस जब ममता-नरेश बस्दै आएको घर पुग्यो, घर पूरै अस्तव्यस्त थियो। सुटकेसहरू प्याक गरिएको थियो, मास्टर बेडरूम र बाथरूममा रगत छिट्टाहरू थिए,’ सामीले भनेकी छन्। नरेश भट्टले तीनवटा चक्कु किनेका थिए। थप दुई चक्कु चाहिँ किन किनेका थिए भन्ने कुरामा अनुसन्धानकर्ताहरू गहिराइसम्म पुगिसकेका छैनन्। नरेशले भाग्ने प्रयास गर्न खोजेको भने देखिएको अनुसन्धान अधिकारीहरूको विश्वास छ। ‘यो प्रतिवादी भाग्ने जोखिम थियो,’ उनले भनिन्।
ममता बेपत्ता भएको भनिएको समयमा नरेश बेरोजगार थिए। यी जोडीले २०२० मा विवाह गरेका थिए। एक वर्षपछि ममता अमेरिका गएकी थिइन्। फेयरफ्याक्स काउन्टी प्रहरीका अनुसार नरेश भट्ट सन् २०२० जुनमा पुलिसमा भर्ना भएका थिए। तर २२ दिनमै उनी बर्खास्तीमा परेका थिए। सोही वर्ष अक्टोबरमा फेरि उनी भर्ती भएका थिए। तर आवश्यकताहरू पूरा गर्न असफल भएपछि १६ नोभेम्बर २०२० मा बर्खास्तीमा परेका थिए।
भर्खरै एक वर्ष पुगेकी नरेश-ममताकी छोरीलाई सामाजिक सेवा विभागको हेरचाहमा राखिएको छ।


